वैशाख १० गते दिउँसोसम्म तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण हुने कुनै चर्चा थिएन । नेताहरुको बीचमा एकीकरणको छलफल ठप्प थियो । लकडाउनअघिसम्म राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले थोरै भए पनि पहल गरिरहेका थिए, तर कुरा अगाडि बढिरहेको थिएन । तर जब वैशाख १० गते काँग्रेस पार्टीले बोलाएको बैठक सकियो अनि एकाएक समाजवादी पार्टी र राजपा नेपालका नेताहरुले एकीकरण गर्ने मुड बनाएर छलफलकै लागि राजपा नेपालका वरिष्ठ नेतृ निर्जला राउतको घरमा पुगे । ६ बजेदेखि बसेको बैठक राति ११ः३० बजे दुई पार्टीबीच एकीकरण हुने सैद्धान्तिक सहमतिपछि मात्र टुङ्गियो । तर त्यो बैठकमा राजपा नेपाल अध्यक्षमण्डलका दुईजना सदस्य राजकिशोर यादव र अनिलकुमार झा उपस्थित थिएनन् । उनीहरु पहिलादेखि एकीकरणप्रति फरकमत राख्दै आएका थिए । उनीहरु बैठकमा उपस्थित नहुँदा विभिन्न आशंकाहरु उब्जियो । प्रस्तुत छ, यही आशंकाको निवारण तथा पार्टी एकीकरण लगायत विषयमा राजपा नेपालका अध्यक्षमण्डलका एकजना सदस्य राजकिशोर यादवसँग गरेको कुराकानीः
समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणका लागि भएको छलफलमा तपाईको उपस्थिति देखिएन नि, किन ?
–अहिले विश्वमै कोराना भाइरसको महामारीको कारण बिपत्तिको स्थिति छ । मानव सभ्यता नै खतरामा परेको छ । नेपाल सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउनको निर्णय गरेको छ । सबै राजनीतिक दलले त्यसको समर्थन गरेको छ । महामारीबाट बच्ने एकमात्र उपाय लकडाउन भएको हुनाले सबैले यसको पालना गर्नुपर्ने आवश्यकता छ । त्यसैले जुन दिनदेखि लकडाउन घोषणा भयो, त्यो दिनदेखि आफ्नो कम्पाउण्डभन्दा बाहिर म निस्केको छैन ।
यो समयलाई मैले स्वअध्ययन, चिन्तन, आत्मसमीक्षा, ध्यानमा उपयोग गरेँ । यो कोरोनाले आफैलाई पनि समस्या पार्छ र आफ्नो कारणले अरुलाई पनि समस्या पार्छ । त्यसैले सामाजिक सुरक्षा तथा रक्षाका लागि भए पनि म एक महिनादेखि घरबाट निस्केको छैन । त्यही कारणले एकीकरणको लागि भएको बैठकमा म भौतिक रुपमा उपस्थित हुन सकिनँ ।

त्यसो भए राजपा नेपाल र समाजवादी पार्टीका केही नेताहरुले लकडाउन सम्बन्धमा जारी सरकारको निर्देशनलाई उल्लंघन गर्नुभएको हो त ?
–यसले सरकारको निर्देशन उल्लंघन गर्नुभन्दा पनि यो सबैको दायित्वभित्र पर्ने कुरा हो । यो कुनै दल विशेषले हड्ताल गरेको होइन, सरकारले कफ्र्यु लगाएकोजस्तो पनि होइन । यतिबेला सबै नागरिक जिम्मेवार हुनुपर्छ । विश्वमा मै हुँ भन्ने शक्तिहरुको पनि अहिले अवस्था खराब छ । उनीहरु पनि आफूलाई यो बिपत्तिबाट जोगाउन हरसम्भव प्रयास गरिरहेका छन् ।
नेपाल पनि यस्तै अवस्थामा जानुपर्छ जस्तो लाग्छ । यद्यपि एउटा घटनाले एकीकरणको अवस्थामा पु¥याएको बैठकमा म जान सकिनँ, केही साथीहरु जानुभयो । मैले यसलाई अन्यथा रुपमा लिएको छैन । अरुले पनि यसलाई अन्यथा बुझ्नुपर्ने कुनै कारण छैन ।
बैठकमा तपाईंको भौतिक उपस्थिति भएन, ठिकै छ । तर यो एकीकरणलाई तपाईंले कुन रुपमा लिनु भएको छ ?
–यो एकीकरणको कुरा एक वर्ष अगाडिदेखि नै उठिरहेको थियो । लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्ने कुराकानी भइरहेको थियो । सानो सानो शक्ति मिलेर नै राजपा नेपाल बनेको थियो । त्यही बेलादेखि अरु पार्टीलाई पनि मिलाउने योजनामा हामी थियौँ । त्यही सन्दर्भमा समाजवादी पार्टीसँग कुराकानी भइरहेको थियो । छलफलकै क्रममा थियौँ तर यो बीचमा एउटा परिस्थिति निर्माण भयो र एकीकरणका लागि सैद्धान्तिक सहमति भयो । यो एकीकरण विगतमा भएको छलफलकै निरन्तरतास्वरुप भएको भनि बुझ्नुपर्छ ।
यसअघि तपाईले राजपा नेपाललाई व्यवस्थित र बलियो नबनाईकन समाजवादी पार्टीसँग एकीकरण गर्नुहुँदैन भन्नुहुन्थ्यो, राजपा नेपालको पहिला महाधिवेशन हुनुपर्छ अनिमात्र एकीकरण जानुपर्छ भन्नुहुन्थ्यो तर अहिले अचानक एकीकरणको घोषणा भयो, जहाँ तपाईंको उपस्थिति थिएन । यो एकीकरणमा तपाईंको विमति छ कि समर्थन छ ?
–म जुन कुरा पहिले भन्थेँ, त्यो कुरामा अहिले पनि अडिग छु । कुनै पनि शक्ति निर्माण गर्दा पहिला आफू शक्तिशाली हुनुपर्छ । वैकल्पिक शक्ति निर्माण गर्नु एउटा कठिन प्रक्रिया हो । यसलाई टेकेर नै केही गर्नुपर्छ । यो कसैको लहैलहैमा, उत्तेजनामा या जोशमा आएर गर्ने चिज होइन । यसमा धेरै कुरा मिलाउनुपर्ने हुन्छ । राष्ट्रिय अन्तराष्ट्रिय स्थिति, समाजको मनोविज्ञान, समाजको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने हो । भोलिको दिनमा राम्रो रिजल्ट ल्याइयोस् भनेर मैलै सैद्धान्तिक रुपमा, वैचारिक रुपमा यो कुरा उठान गरेकै हो । अहिले पनि म त्यसलाई त्यही रुपमा हेर्छु । तथापि परस्थितिले विषयवस्तुलाई अगाडि बढाएको छ । एउटा परस्थितिले पार्टी एकीकरण भयो, त्यसपछि पनि त्यसलाई सफल बनाउनका लागि धेरै काम गर्नुपर्ने छ । जसरी परस्थितिले नेतृत्वलाई जवर्जस्त रुपमा धक्का दियो । त्यही अवस्थामा अगाडि बढ्नुपर्छ । त्यसमा कुनै असन्तुष्टि देखाउनुपर्ने कुनै कारण छैन ।
यत्रो दिनदेखि प्रयास गर्दा गर्दै पनि एकीकरण हुन सकेको थिएन, के यस्तो आपत आइलाग्यो जसले यो लकडाउनका अवस्थामा पनि रातारात एकीकरणको घोषणा गर्नुप-यो ?
–मैले अघि पनि भनेको थिएँ कि म एक महिनादेखिको लकडाउनमा घरमै थिएँ । एकप्रकारले राजनीतिक गतिविधिहरु पनि ठप्प नै राखेको थिएँ । म सम्पर्कमा पनि थिइनँ । जीवन, जगतलाई बुझ्न चिन्तन मननमा थिएँ । म खासै कसैको सम्पर्कमा थिइनँ । त्यो बैठकमा रहनुभएका साथीहरुले के के कुरा गर्नुभयो, किन यो परस्थिति निर्माण भयो, त्यो कुरा पनि मैले बुझ्न पाएको छैन । त्यो कुरा बाहिर पनि आएको छैन ।
त्यसदिन आज (१० गते) बैठक बस्नुपर्छ भनि फोन गरेर संयोजक (शरतसिंह भण्डारी) ले भन्नुभएको थियो । त्यो दिन बिहान काँग्रेसको पनि बैठक छ, त्यो पनि खबर थियो तर मैले उहाँलाई ‘लकडाउनमा म बाहिर निस्केको छैन । प्राविधिक रुपमा अहिले ड्राइभर पनि छैन । र, जाने मन पनि छैन, तपाईंहरु गर्नुस्, केही भयो भने फोनमा कुरा गर्नुहोला, मेरो सहमति रहन्छ’ भनेको थिएँ । तै पनि उहाँले आउनुस् कि आउनुस् भन्नुभएको थियो । मैले काँग्रेसको बैठकमा जानका लागि असमर्थता जाहेर गरेको थिएँ । काँग्रेसको बैठकबाट निस्केपछि उहाँले पुनः मलाई फोन गरेर समाजवादी पार्टीसँग ६ बजे बैठक छ भन्नुभयो । तर मलाई लाग्यो कि अहिलेको विकसित घटनाक्रमको बारेमा बैठक होला र मैले त्यही रुपमा त्यसलाई बुझेको थिएँ । ‘तपाईंहरु बैठक गर्नुस्, केही कुराकानी भयो भने फोन संवाद गरौँला’ भनेको थिएँ । तर अचानक खबर आयो कि दुई पार्टीबीच एकीकरण नै भयो ।
त्यहाँ के के भयो, कसरी भयो, त्यो कुरा मलाई थाहा भएन । त्यहाँ उपस्थित नेताहरुलाई नै थाहा होला । म अहिले पनि राजनीतिक कुरा गर्ने पक्षमा थिइनँ । म आफ्नो ध्यानलाई अहिले कतै डाइभर्ट गर्ने पक्षमा थिइनँ । यो राजनीति गर्ने बेला होइन तर नेपालमा कस्तो छ भने, अवस्था जस्तोसुकै होस्, नेताहरुलाई राजनीति गर्नैपर्ने जस्तो छ । नानीदेखि लागेको बानी अझै सुधार भएको छैन । अहिले कोरोनाको विरुद्धमा एकजुट भएर लड्नुपर्ने बेलामा राजनीतिक गतिविधिले जुन तीब्रता लिएको छ, त्यो दुःखद् पक्ष हो । अमेरिकामा राष्ट्रपति चुनाव सर्ने अवस्था सिर्जना भएको छ । भारतमा पनि त्यस्तै अवस्था छ । विश्वमा नै अहिले कोरोनाबाट कसरी बच्ने भनेर सारा शक्ति त्यसैमा लगाएको छ तर नेपालमा अहिले पनि दलगत राजनीति, गुटगत राजनीतिभन्दा माथि उठ्न सकेको छैन ।
यो एकीकरणले नेपालको राजनीतिमा कस्तो प्रभाव पार्छ ?
–यो निकै गम्भीर र भविष्य लक्षित प्रश्न हो । यसमा अझै वृहत छलफलको आवश्यकता छ । छलफलबाट निष्कर्षमा पुगेपछि मात्र यी प्रश्नको जवाफ दिन सकिन्छ । जहाँसम्म मैले कल्पना गरेको राजनीतिक शक्तिको कुरो छ, त्यो ढंगले निर्माण गर्न सकियो भने नेपालको राजनीतिक कोर्समा एउटा ऐतिहासिक जिम्मेवारी पुरा गर्न सक्छ । त्यसका लागि सामूहिक चिन्तन, सामूहिक कार्य, सामूहिक शक्तिले मात्र सम्भव छ ।
तपाईंले अहिलेका समकालीन नेताहरुसँग काम गरिसक्नु भएको छ, ११÷१२ वर्षको अनुभव छ तपाईंसँग । जुन नेचरको राजनीतिक दल र त्यसका नेताहरु हुनुहुन्छ, तपाईंलाई के लाग्छ, तपाईंले भनेकोजस्तो सामूहिक रुपमा अगाडि बढ्छ त ?
–यसमा समयले धेरै कुरा निर्धारण गर्छ । मैले विगत र आजको समयलाई नियाल्दा के बुझेको छु भने नेतृत्वपंक्तिमा परस्थितिले गर्दा एक प्रकारको बुझाई भएको छ र यो परस्थिति निर्माण भएर यो कार्य अगाडि बढेको छ । काम गर्दा केही तलमाथि भइरहन्छ तर एउटा बृहत सोचका लागि यस्ता साना मसिना कुरामा अल्झिनु हुँदैनजस्तो लाग्छ । पार्टीका नेतृत्व तहका नेताहरुले पनि सोच साँघुरो बनाउनु हुँदैन, वृहत सोचका साथ अगाडि बढ्नुपर्छ । सबैको भावना र विचारलाई कदर गर्दै अगाडि बढ्नुपर्छ अनिमात्र मिसनमा सफल हुन्छ ।
मधेशवादी दल फुटाउनैका लागि यो अध्यादेश ल्याएको हुँ, मधेशवादी दलहरुले मलाई मधेशमा निषेध गरेकै कारणले यस्तो गरेको हुँ भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको सञ्चारमाध्यममार्फत बाहिर आएको छ, के साँच्चै प्रधानमन्त्री ओलीले भनेका कुरा सही हो ?
–म एकप्रकारले अध्यात्ममा विश्वास गर्ने मान्छे हुँ । एक त अध्यादेशको औचित्य भएन भने भनि फिर्ता भयो । यसमा धेरै गन्थन गर्ने आवश्यकता भएन । मिडियामा आएको कुरा कति सत्य हो÷होइन भन्ने कुरालाई कसरी मापन गर्ने थाहा छैन । तर जसरी, जुन अवस्थामा अध्यादेश ल्याइयो, त्यो ठिक भएन । अहिले त सरकारको पुरै ध्यान कोरोना भाइरसबाट जनतालाई कसरी मुक्ति दिलाउन सकिन्छ, त्यसमा जानुपर्ने हो । तर दुर्भाग्य, राजनीतिभन्दा हामी माथि उठ्न सकेनौँ । अब हामी पुनः त्यही नर्मल अवस्थामा पुग्छौँ भनि कसैले सोचिरहेको छ भने गलत हो । अब परस्थिति धेरै बदलिसकेको छ । कोरोनाबाट मुक्त भए पनि विश्व परिवेश, भौगोलिक राजनीति र सम्बन्ध यस्तै रहने छैन । आउने दिनलाई कसरी सामना गर्ने हो, त्यसका लागि तयार हुनुपर्ने हो । त्यसका बारेमा चर्चा गर्नुपर्ने हो, त्यसको बारेमा अध्ययन गर्नुपर्ने हो । यो कोरोना भाइरसले हाम्रो आर्थिक र सामाजिक जीवन प्रकृयालाई प्रभाव पार्छ । त्यसलै अहिले नेपाल सरकारले सोच्नुपर्ने के हो भने हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड भनेको विदेशबाट आउने रेमिटेन्स हो । यो कोरोनाले गर्दा बाहिरी मुलुकले नेपाली श्रमिकहरुलाई पहिलाको जस्तै लग्ने छैन । ती युवा अर्थात् श्रमिकलाई देशमै कसरी रोजगार दिन सकिन्छ, त्यो कुरामा ख्याल गर्नुपर्छ । हामी हरेक कुरामा परनिर्भर भएको अवस्थामा अब कसरी आत्मनिर्भर हुने कुरामा ध्यान दिनुपर्ने अवस्था आएको छ ।
काठमाडौं । अध्यादेश प्रकरणपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेसँगै नेताहरुको कोठे बैठक र दौडधुप जारी छ । आइतबार दिनभरजसो बालुवाटार, खुमलटार र कोटेश्वरमा शीर्ष नेता निकटहरुका बैठकहरु भयो । अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहका फरक–फरक बैठक बस्यो भने एकपक्षले अर्को पक्षलाई मनाउने प्रयासहरु भए । खासगरी पार्टी बैठक बोलाउने या नबोलाउने भन्नेमा मतभेद आएपछि नेकपाभित्र शक्ति सन्तुलनको तीव्र अभ्यास सुरु भएको हो । अध्यादेश खारेज भइसकेपछि पार्टी बैठक आवश्यक नभएको ठान्ने केपी ओली समुह र अध्यादेश कुन नियतले ल्याइयो र किन फिर्ता गरियो भनेर जावफ खोज्नेहरुबीच अन्तरद्वन्द्व चर्किएको छ ।
अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहका नेताहरु स्थायी समिति बैठकमार्फत् आफ्ना गुनासा राख्न चाहन्छन् । त्यसका लागि प्रचण्ड र माधव नेपाललाई बैठक डाक्न दबाब दिइरहेका छन् । शनिबार शीर्ष नेतासँगको छलफलमा आइतबारसम्म सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्ने बताएका अध्यक्ष केपी ओलीले सोमबार बिहानसम्म पनि सचिवालय बोलाउन सहमत भएका छैनन् ।
सोमबार साँझसम्म पनि बैठकको टुङ्गो नलागे ओलीविरुद्ध फरक ढंगले अघि बढ्ने दाहाल र नेपालसमुहको तयारी छ । स्थायी समितिको बैठक माग गर्ने २० जना मध्येका एक नेता युवराज ज्ञवालीलाई नेकपाको आन्तरिक विवाद कहाँ पुग्यो भनेर रातोपाटीले सोधेको छ । प्रस्तुत छ नेता ज्ञवालीसँगको संक्षिप्त टेलिफोन वार्ता :
विगत केही दिनदेखि नेकपामा गुटगत भेला धेरै हुन थाल्यो, कारण के हो ?
पार्टी र सरकारबीच समन्वय नै भएन । यो रोक्नुपर्नेछ । यसका लागि पहिला सचिवालय बैठक बस्नुपर्यो । त्यसपछि स्थायी कमिटिको माग गरेका छौ । हामीले भन्नुपर्ने कुरा धेरै छन् । हामी हाम्रा कुरा ति बैठकमा सशक्त उठाउछौ । स्थायी कमिटि डाक भनेर माधव नेपाल र प्रचण्डलाई भनेका हौँ । उहाँहरु त्यसैको तयारी लाग्नुभएको छ । स्थायी कमिटी बैठक बस्यो भने हामी हाम्रा धेरै कुरा राख्छौँ ।
धेरै भन्नुछ भन्नुभयो । के–के भन्नुछ एक, दुई तीन गरेर भन्नु त ?
भन्नलाई त बैठक बस्नुपर्यो नि । बैठकबाहिर भन्ने होइन । बाहिर भनेर समस्या हल हुदैन । हल गर्ने ठाउ भनेको पार्टी कमिटि हो । त्यसैले पार्टी कमिटिको बैठक राख्नुपर्यो ।
बैठक राख्ने अझै संकेत देखिएको छैन ? अध्यक्षले बैठक नै राख्नुभएन भने के गर्नुहुन्छ ?
हैन, हैन, अनिवार्य बस्नुपर्छ । एक दुई जनाले मानेन भन्दैमा बैठक रोकिदैन ।
नेकपामा सरकार केपी ओलीले चलाउने, पार्टी प्रचण्डले चलाउने भनेर कार्यविभाजन भएको हो । अध्यक्ष प्रचण्डले बैठक बोलाए हुदैन ?
त्यही त हो हामीले भनेको । उहाँहरुले सल्लाह गरेर निर्णय गर्नुपर्यो । सचिवालयमा बस्नुभएको छ । एउटा बैठक पनि डाक्नसक्नुहुन्न भने के हुन्छ ?
तर, तपाईंहरु त प्रधानमन्त्री पनि फेर्ने, मुख्यमन्त्री पनि फेर्ने हिसावले अघि बढ्दै हुनुहुन्छ भन्ने छ नि के त्यसै गर्न लाग्नुभएको हो ?
होइन, यो कुरामा कुनै सत्यता छैन । यसबारेमा हाम्रो कुनै छलफल नै भएको छैन ।
गर्न खोजेको के हो त त्यसो भए ?
हामीले गर्न खोजेको भनेको पार्टीलाई संस्थागत रुपले चलाउनुपर्यो । सरकारलाई पार्टीले चलाउनुपर्यो भनेको हो । संस्थागत निर्णय हुनुपर्यो । त्यसैले बैठकको माग गरेको हो । स्थायी कमिटी बैठकको माग त्यसै गरेको होइन । त्यसले निर्णय गर्छ । बैठक बसेर भाषण गर्न मात्र बैठकको माग गरेका होइनौँ । त्यसले निर्णय गर्छ ।
के गर्छ निर्णय ?
छलफल गरेपछि थाहा हुन्छ । छलफल नै नगर्ने, बैठक नै नराख्ने अनि भाषण गरेर मात्र त निर्णय हुदैन । हामीले पनि अन्तरवार्ता दिएर समस्या हल हुनेवाला छैन ।
यसअगाडि बसेको स्थायी समिति र केन्द्रीय समितिले गरेका निर्णयहरु नै कार्यान्वयन नभएको अवस्थामा फेरि बैठक बसेर अरु निर्णय गर्नुको कति अर्थ रहन्छ ?
हो । त्यो पनि समिक्षा गर्नुपर्ने भएकाले बैठक मागेका हौँ । केन्द्रीय कमिटीको बैठक बसेर त्यत्रो निर्णय गरेको छ । त्यसको उहाँहरुले जवाफ दिनुपर्छ । जवाफ दिनुभएन भने त्यसको समाधान केहो खोज्नुपर्छ । नयाँ समाधान खोज्नुपर्छ । या त उहाँहरुले गर्नसक्नुपर्यो या त छोड्नुपर्यो । यस्ता धेरै कुरा भन्नुपर्नेछन् । बाहिर कति भन्नु कति बोल्नु ? त्यसकारण हामी अब बोल्दैनौ ।
अब कति समय पर्खनुहुन्छ त बैठकका लागि ?
हेर्दै जाउ । हामीले भन्ने कुरा नेतृत्वलाई भनेका छौँ । बैठक बस्दै बसेन भने विधानमा व्यवस्था भएअनुसार अघि बढ्ने कुरा छँदैछ । त्यसपछि अगाडि जाने स्टेप वाई स्टेपका प्रक्रिया छन् ।
पार्टीबाटै सरकारलाई नै घेराबन्दी भयो । काम गर्ने वातावरण नै भएन भन्ने गुनासो छ । के तपाईंहरुले सरकारलाई घेराबन्दी गरेको हो ?
घेराबन्दी, अप्ठेरो केही गरेको छैन । आफै नचाहिने–नचाहिने काम गर्ने, अध्यादेश ल्याउने के गर्ने त्यसपछि हामीलाई दोष दिने ?
आज कुन चरणको छलफल गर्दै हुनुहुन्छ ?
आज हाम्रो छैन । आज सचिवालयमा केही छलफल होला ।