world
||Power News Asia||

आजको समाचार

नेपालको ९० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन ल्याउने सम्झौता

विश्व


काठमाडौं- विश्वको पहिलो कोभिड-१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक-भी २ करोड ५० लाख डज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।

स्पुतनिक-भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ । यो सम्झौतासँगै नेपालको ९० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहुँच पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता भने दिइसकेको छैन । डब्लुएचओले यसको प्रभावकारिता र सुरक्षाको सुनिश्चितता भएपछि मात्र मान्यता दिने स्पष्ट पारेको छ । तर, ५० भन्दा बढी मुलुकहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तत्तपरता देखाएका छन् । रुसको गेमेलियाद्वारा विकास गरिएको भ्याक्सिन रुसमा प्रयोगमा ल्याइँदैछ । रुसले उक्त भ्याक्सिनको दोस्रो चरणको परीक्षणपछि तेस्रो चरणको परीक्षण हुँदै गर्दा ११ अगष्टमा दर्ता अनुमति दिएको थियो ।

पहिलो र दोस्रो चरणको परीक्षणपछि भ्याक्सिन प्रभावकारी र उपयोगी भएको रिसर्च पेपरमा ४ सेप्टेम्बरमा तथ्य प्रकाशित गरिएको थियो । द लान्सेट नामको जर्नलले यसबारे वृस्तृत जानकारी दिएको थियो ।

अब पाँच डलरमै कोरोना परीक्षण, एक मिनेट मै रिपोर्ट

विश्व


काठमाडौं- अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ।

कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको डब्ल्यूएचओको विश्वास छ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ।

 

दीपिका, सारा, श्रद्धा र रकुलप्रितको बैंकको खाता अनुसन्धान हुने, सात नायकसँग  पनि सोधपुछ हुने

विश्व


एजेन्सी- सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलाको अनुसन्धानमा नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले अब दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर र रकुलप्रित सिंहको बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्नेछ । यी नायिकासँग एनसीबीका अधिकारीले ड्रग्ससँग जोडिएको ह्वाट्सएप च्याटबारे थुप्रै घण्टा सोधपुछ गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार अब उनीहरुले ड्रग्स खरिद गर्नका लागि केही ट्रान्ज्याक्सन गरेका छन् छैनन् भनेर जान्ने कोसिस भइरहेको छ ।

 भारतीय मिडियाका अनुसार चारै नायिकाले पछिल्लो तीन वर्षमा क्रेडिट कार्डमार्फत् गरिएको भुक्तानीको अनुसन्धान गरिएको छ । एनसीबीलाई उद्धृत गर्दै भारतीय मिडियाले दाबी गरे अनुसार ड्रग्स मामिलामा बलिउडका थुप्रै ठूला निर्माता र ७ ठूला नायकमाथि पनि सोधपुछ गरिनेछ ।

दीपिकाले ड्रग्स च्याट गरेका स्विकारेकी थिइन्ः

एनसीबीले शनिबार दीपिका पादुकोणलाई साढे पाँच घण्टा सोधपुछ गरेको थियो । स्रोतका अनुसार उनले आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्सको च्याट स्विकारेकी थिइन् । यद्यपि, उनले ड्रग्स सेवन भने नगरेको बताएकी छिन् । यस्तै सारा र श्रद्धाले सोधपुछमा सुशान्तले ड्रग्स लिने गरेको बताएका थिए । यसअघि रकुलप्रित सिंहले रियासँग ड्रग्सबारे च्याट गरेको स्विकारेकी थिइन् ।

रियाको जमानत याचिकामा आज सुनुवाई

ड्रग्स मामिलामा गिरफ्तार भएकी नायिका रिया चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्तीको जमानत याचिकामा मंगलबार बम्बे उच्च अदालतमा सुनुवाई हुनेछ । सुशान्तका हाउस म्यानेजर रहेका स्यामुअल मिरान्डा, कुक दिपेश सावन्त र लागुऔषध कारोबारी बासित परिहारको जमानतको निर्णय पनि आउनसक्छ । यी सबैको याचिका तल्लो अदालतले दुई पटक खारेज गरिसकेको छ ।

ट्रम्प प्रशासनले चुनावलाई लक्षित गरी चीनको टापुमा आक्रमण गर्ने आशंकास चीनद्वारा खतरनाक प्रत्याक्रमणको चेतावनी

विश्व


एजेन्सी- चीनले दाबी गरेको टापुमा अमेरिकाले आक्रमण गर्ने चर्चा चलेको छ । चीनले भने त्यस्तो आक्रमण भएमा खतरनाक प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।

चीनको विदेश मामलाबारे जानकारी दिदै आएको ग्लोबल टाइम्सले सम्पादकीयमार्फत् अमेरिकाले चिनियाँ टापुमा आक्रमण गरे प्रत्याक्रमण गर्ने चेतावनी दिएको हो । ग्लोबल टाइमसले सम्वादकीयमा भनेको छ, ‘अमेरिकाद्वारा चीनका टापुमाथि हुनसक्ने आक्रमणको खतरनाक प्रत्याक्रमण हुनेछ ।’

अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा अमेरिकाले चीनविरुद्ध कुनै आक्रमणको कदम चाल्न सक्ने आशंका समेत गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार चीनले नान्सा टापुमा निर्माण गरेकोप्रति आलोचना समेत गरेर विज्ञप्ति जारी गरेको छ । अमेरिकी सेनाले ड्रोन आक्रमणका लागि पठाउन सक्ने समेत रिपोर्टहरु सार्वजनिक भएको छ ।

यदि नान्सा टापुमा अमेरिकाले ड्रोन हमला गरेमा चीनले यसलाई युद्धको कदम भन्ने ग्लोबल टाइम्सले लेखेको छ । त्यतिबेला चिनियाँ जनमुक्ति सेनाले प्रत्याक्रमण गरेर अमेरिकी सैनिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था निर्माण गर्ने चेतावनी दिएको छ ।

ट्रम्प प्रशासनले पुनः निर्वाचित हुन कुनै सैन्य संकट ल्याउन खोजेको समेत आरोप लगाइएको छ । चीनलाई तारो बनाएर युद्धको अवस्था ल्याउन सक्ने र शान्तिलाई बिगार्न खोज्ने खतरा समेत औल्याएको छ । ग्लोबल टाइम्सले अमेरिकाको सम्भावित आक्रमणलाई लक्षित गरी सम्पादकीयमा लेखेको छ, हाम्रो एउटै विकल्प कडा आक्रमण गर्नु हो र अमेरिकाले कहिल्यै नबिर्सने पाठ सिकाउनु हो ।

भारतको सर्वोच्च अदालतद्वारा प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवानाको सजाय

विश्व


काठमाडौँ — भाद्र १६, २०७७। 

भारतको सर्वोच्च अदालतले चर्चित अधिकारकर्मी तथा वकिल प्रशान्त भूषणलाई अदालतको अवहेलनामा भारतीय एक रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।

न्यायाधीशहरू अरूण मिश्रा, बीआर गवई र कृष्ण मुरारीको इजलासले सोमबार भूषणलाई उक्त सजाय सुनाएको हो ।

भूषणलाई १५ सेप्टेम्बरसम्ममा उक्त जरिवाना तिर्न अदालतले आदेश दिएको छ ।

अदालतको अवहेलनामा एक रुपैयाँ सजाय सुनाउने भारतको सर्वोच्च अदालतको यो पहिलो निर्णय हो ।

गएको २७ र २९ जुनमा भूषणले दुईओटा ट्वीट गरेका थिए । पहिलो ट्वीटमा भारतको लोकतन्त्रलाई कमजोर बनाउन सर्वोच्च अदालतको र त्यसमा पनि पछिल्ला चारजना प्रधानन्यायाधीशको भूमिका रहेको उल्लेख गरेका थिए ।

अर्को ट्वीटमा हेल्मेट र मास्कबिना नै मोटरसाइकलमा चढेका भारतका प्रधानन्यायाधीशको तस्वीर पोस्ट गरेर आलोचना गरेका थिए ।

यी दुवै ट्वीटलाई लिएर भूषणविरूद्ध सर्वोच्चमा अवहेलनामा मुद्दा चलाइएको थियो ।

१६ अगष्टमा सर्वोच्चले १०८ पृष्ठको आदेश जारी गर्दै भूषणले अदालतको अवहेलना गरेको ठहर गरेको थियो ।

मुद्दाको सुनुवाइमा अदालतले भूषणलाई माफी माग्न भनेपनि उनले माफी नमाग्ने बरू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका थिए ।

भारतमा अदालतको अवहेलनामा दोषी पाइने व्यक्तिलाई छ महिनासम्म कैद वा दुई हजार भारतीय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुन छ । 

(एजेन्सी)

प्रणब मुखर्जीको जीवनयात्राः शिक्षक, पत्रकार हुँदै राष्ट्रपतिसम्म

विश्व


काठमाडौँ — भाद्र १६, २०७७। 

भारतका धेरै नागरिकले मन पराउने नेताहरुको सूचीमा अग्रपङ्क्तिमा पर्ने पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरले अहिले भारतभरी शोक छाएको छ ।

अन्य देशका नेताहरुसँग पनि राम्रो सम्वन्ध भएकाले उनको निधनप्रति विश्वभरीबाट दुःख व्यक्त भइरहेको छ ।

विभिन्न दीर्घरोगका कारण अस्वस्थ्य रहँदै आएका ८४ बर्षीय मुखर्जीलाई कोरोना सङ्क्रमण भएको पनि पुष्टि गरिएको थियो ।

अस्पतालमा उपचार गरिरहँदा पनि थप गल्दै गएपछि उनी केही दिनदेखि अचेत अवस्थामा रहेका थिए ।

भेन्टिलेटरमा राखेर उपचार गराइरहेपनि उनको उपचार सफल नभएको उनकै छोराले जानकारी दिएका छन् ।

उनका बारेमा यसअघि पनि गलत समाचार सार्वजनिक भएपछि परिवारजन र अस्पतालले पटक पटक उनी जिवितै भएको र उपचार भइरहेको स्पष्टीकरण दिनु परेको थियो ।

अन्ततः लामो राजनीतिक तथा सामाजिक सङ्घर्ष गरेका मुखर्जीले सोमबार सधैँका लागि विश्राम लिएका छन् ।

उनी भारतको प्रधानमन्त्रीका लागि स्वभाविक दावेदार भएपनि प्रधानमन्त्री हुन नपाएका नेताका रुपमा चिनिन्छन् । सन् १९८४ र सन् २००४ मा उनी प्रधानमन्त्रीका लागि शसक्त दाबेदार देखिएका थिए ।

भारतीय काँग्रेस पार्टीकी तत्कालिन अध्यक्ष इन्दिरा गान्धीबाट प्रशिक्षित भएकाले पनि उनलाई आफु प्रधानमन्त्री बन्छु भन्ने विश्वास हुँदाहुँदै पनि बन्न पाएका थिएनन् ।

प्रधानमन्त्री बन्न नपाएको बारेमा उनले कहिल्यै पनि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरे पनि उनकी छोरी तथा काँग्रेस नेतृ शर्मिष्टा मुखर्जीले आफ्ना बुवा भारतको प्रधानमन्त्री बन्न नपाएकोमा मनमा कता कता अन्याय अनुभव गरेको बताउने गर्थिन् ।

उनी सन् २०१२ मा भारतको राष्ट्रपतिमा निर्वाचित भएपछि त झन यो असन्तुष्टि व्यक्त गर्नु अस्वभाविक नै भएकाले त्यत्तिकै दब्यो ।

त्यसलाई थप दवाउन राष्ट्रपतिबाट बाहिरिएपछि गत बर्ष उनलाई भारत रत्न सम्मान प्रदान गरिएको थियो ।

सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा पर्ने मिराटी गाउँको एउटा सामान्य परिवारमा जन्मिएका मुखर्जी काँग्रेस पार्टीका नेता थिए । त्यसैले नै उनी स्वभाविक रुपमा राजनीतिमा हानिए ।

युवा अवस्थादेखि नै राजनीतिमा सम्लग्न मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका थिए ।

सन् १९६९ मा ३४ वर्षको उमेरमा राज्यसभाको सदस्य बनेका थिए । तर पार्टीबाट ६ वर्ष निलम्बन पनि भोग्नु परेको थियो ।

त्यसपछि पनि निरन्तर पार्टीमा सक्रिय भएपछि उनी अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व पनि गरे ।

भारतको लोकसभाको सभामुखसमेत भएका मुखर्जीले अरु पनि धेरै सरकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका थिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेकाले भारतमा उनलाई राम्रो अर्थविद्का रुपमा लिइन्थ्यो ।

त्यही पृष्ठ भुमिमा उनलाई अर्थमन्त्रालयको जिम्मेबारी प्राप्त भयो । त्यसमा सफल भएपछि थप राजनीतिक यात्रा पनि राम्रो बन्दै गयो ।

त्योभन्दा धेरै अगाडि उनी भारतमा शिक्षक र पत्रकारका रूपमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल भएका थिए ।

उच्च शिक्षा पुरा गरेसँगै उनले स्थानीय शिक्षालयमा प्राध्यापन गरेका थिए । उनी स्थानीय बङ्गाली भाषामा प्रकाशित हुने पत्रिकाको सम्पादक पनि बनेका थिए ।

उनलाई भारतमा प्रधानमन्त्री बन्ने बाहेक अन्य पर्याप्त अवसर पाएका नेताका रुपमा लिइन्छ । भद्र, सन्तुलित, समन्वयकारी र बौद्धिक व्यक्तिका रुपमा चिनिने मुखर्जीप्रति धेरै जनताको सकारात्मक धारणा रहँदै आएको थियो ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा, रासस)
 

कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व


काठमाडौँ — भाद्र १६, २०७७। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार नगर्न सचेत गराएको छ ।

विभिन्न देशले विभिन्न चरणमा खोपको परीक्षण गरिरहेका बेला डब्ल्यूएचओले सबैलाई सचेत गराएको हो ।

डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले सञ्चारकर्मीहरुसँग खोपलाई अनुमति दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताउनुभएको हो ।

सबै देशले परीक्षण पूरा नभए पनि औषधिलाई मन्जुरी दिने अधिकार राख्छन् तर यो कुनै हल्कामा लिने खालको काम नभएको उहाँको भनाइ छ ।

हाल ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको र १४३ खोप अझै पनि प्रि–क्लिनिकल इभोलुसनको चरणमा रहेको डब्ल्यूएचओको भनाइ छ ।

यसैगरी डब्ल्यूएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको छ ।

डब्ल्यूएचओले चेतावनी दिँदै भनेको छ– जुन देशमा अझै पनि नयाँ संक्रमित फेला परिरहेका छन्, ती देशहरुले मानिसलाई भेला हुन दिएमा विनाशलाई निम्ता दिएजस्तै हुन्छ ।

(ईमेज खबर)

ट्रम्पले हिंसालाई प्रोत्साहन गरे : बाइडेन

विश्व


वासिङ्टन — भाद्र १६, २०७७। 

अमेरिकाको पोर्टल्यान्डमा भएका हिंसात्मक प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेन चर्को आरोप–प्रत्यारोपमा उत्रिएका छन् । ट्रम्पले पोर्टल्यान्डका मेयर टेड विलरलाई ‘सहरमा मृत्यु र विध्वंसको बाटो खोलेको’ आरोप लगाएका छन् । विलर डेमोक्र्याट पार्टीका हुन् ।

अमेरिकाको ओरिगन राज्यस्थित पोर्टल्यान्डमा गरिएको प्रदर्शनका सहभागीलाई नियन्त्रणमा लिँदै प्रहरी ।
त्यसको जवाफमा बाइडेनले राष्ट्रपति ट्रम्पले ‘गैरजिम्मेवार तरिकाले हिंसालाई प्रोत्साहन गरेको तथा अमेरिकामा घृणा र विभाजनको आगो सल्काएको’ आरोप लगाए ।

अमेरिकामा शनिबार राष्ट्रपति ट्रम्पका समर्थक र ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका सहभागीबीच हिंसात्मक झडपहरू भएका थिए । त्यस क्रममा एक जना श्वेत प्रदर्शनकारी मारिएका थिए ।

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि पोर्टल्यान्ड प्रहरी बर्बरता र रंगभेदविरोधी प्रदर्शनको केन्द्र बनेको छ । पोर्टल्यान्डमा करिब ३ महिनादेखि नियमितजसो प्रदर्शनहरू हुँदै आएका छन् ।

मिनिसोटा राज्यको मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएका फ्लोइड मे २५ मा मारिएपछि ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियन्ताहरू विरोधमा उत्रिएका हुन् ।

राष्ट्रपति ट्रम्पले आइतबार चरणबद्ध रूपमा ट्वीट गर्दै ‘मूर्ख मेयरका कारण पोर्टल्यान्डले कहिल्यै पुरानो स्वरूप नपाउने’ बताएका थिए । त्यसका साथै उनले पोर्टल्यान्डमा संघीय सुरक्षा फौज परिचालन गर्नेबारे विचार गरिरहेको बताए । बाइडेनले ‘अपराधविरुद्ध बोल्न नचाहेको’ ट्रम्पको आरोप छ ।

राष्ट्रपतिको भनाइपछि एक विज्ञप्ति जारी गर्दै बाइडेनले ट्रम्प निकै कमजोर भएको प्रतिक्रिया दिए । ‘कानुनी राजबारे ट्वीट गरेर ट्रम्प आफूलाई बलियो देखाउन सकिन्छ भन्ने ठान्छन् । तर आफ्ना समर्थकलाई द्वन्द्व रोक्न आह्वान गर्न नसक्नुले नै उनी कति कमजोर छन् भन्ने प्रस्ट हुन्छ ।’

त्यस्तै, एक पत्रकार सम्मेलनका अवसरमा पोर्टल्यान्डका मेयर टेड विलरले समेत राष्ट्रपति ट्रम्प ‘अमेरिकाको आधुनिक इतिहासमा देशलाई सबैभन्दा बढी विभाजन गर्न खोज्ने व्यक्ति भएको’ आरोप लगाएका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा पुन: निर्वाचित हुन कानुनी शासनलाई मुख्य हतियार बनाएका ट्रम्पले डेमोक्र्याटहरू आपराधिक गतिविधिमा निकै नरम भएको बताउँदै आएका छन् । तर डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पको शासनकालमा हिंसा झन् बढेको दाबी गर्छन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)

नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव फेला

विश्व


लन्डन — भाद्र १६, २०७७। 

नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बीबीसीले जनाएको छ ।

प्रहरीले उनको निधनलाई शंकास्पद मानेको छैन। प्रहरीले परिवारलाई अवगत गराइसकेको छ ।

बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।

स्थानीय जंगल, नदी किनारामा व्यापक खोजी गरेको प्रहरीले छरछिमेकका बासिन्दाहरुलाई आआफ्ना घरका बगैंचा, भण्डार गृह, गोठ आदि चेक गर्न आग्रह पनि गरेको थियो । कुनै स्थानीय बासिन्दा वा व्यवसायीसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको थियो ।

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि गत जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो ।

उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको थिए । नेपाललाई माया गर्ने रिचर्डले नेपालमा महाभूकम्पपछि गएका बेलायती राजकुमार ह्यारीको भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

विशेषगरी ब्रिटेन-नेपाल च्याम्बर अफ कमर्स प्रतिनिधिसँग निकट थिए मोरिस ।

(एजेन्सी/कान्तिपुर दैनिक

बेइजिङमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिए

विश्व


काठमाडौं — भाद्र १५, २०७७ । 

चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ ।

सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने यो २४ घन्टामा यहाँका २४ जना निको भएर घर फर्र्किएका छन् ।

केही हप्ता यता चीनले आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना भाइरस देखिएको बताउँदै आएको छ ।

गएको २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीहरुले बताएको हो ।

चीनमा यो समेत गरी यस भाइरसका ८ हजार ५४८ जना सङ्क्रमित भेटिएका हुन् । त्यस्तै यहाँका ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

तर चीनको जनजीवन अहिले सामान्य भइसकेको छ । त्यहाँ कहिलेकाहिँ र त्यो पनि विदेशबाट आएका नागरिकमा यो भाइरस देखिने गरेको बताइएको छ ।

(रासस/एएनआई)