काठमाण्डौ– चलचित्र निर्देशक समाजको, मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा अरुण कुमार प्रधान विजयी भएका छन् । अध्यक्ष पदकालागी जनकदीप पराजुली ४६ मत प्राप्त गरे भने अरुणकुमार प्रधान १०९ मत ल्याएर बिजयी भएका छन् । त्यसै गरी दुई जना उपाध्यक्ष पदका लागी सुभास गजुरेल ९५ मत ल्याएर बिजयी भए भने दीपक वली ७१ मत ल्याएर बिजयी भएका छन् । उपाध्यक्ष पदका लागी निकटतम् प्रद्धिदन्द्धी रहेका देवेन्द्र पान्डेले ५७ मत ल्याए भने ऋषिराज आचार्य ३२ र राज बस्न्यातले २२ मत ल्याएका थिए ।
महासचिवको पदको लागी समुन्द्र भट्टले १०६ ल्याएर बिजय भईन् भने निकटतम् प्रद्धिदन्द्धी कमल एक्चै मगरले ४७ मत प्राप्त गरे । सचिव पदमा भभने राजबहादुर सानेले ८० मत ल्याएर बिजयी हुँदा अमर ओलीले ४६, दिनेश लिङ्देन ले २८ मत ल्याएका थिए । त्यसै गरी कोषाध्यक्ष पदका लागी जनक खड्का निर्विरोध निर्वाचित भएका थिए ।
सहकोषाध्यक्ष पदका लागी तीन जना निर्देशकहरुको प्रतिष्प्रधा रहेको थियो जसमा उत्सव केसी ६७ मत ल्याएर बिजय हुन सफल भए भने उनका निकटतम् प्रद्धिदन्द्धी अमृतमान महर्जनले ४४ र भीषण राईले ४२ मत प्राप्त गरेका थिए ।
त्यसैगरी कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचीत भएका छन् । निर्विरोध निर्वाचित हुनेहरुमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू रहेका छन् ।
काठमाडौं– चलचित्र कलाकार संघको अध्यक्ष पदमा उत्तम केसी विजयी भएका छन् । केसीले २१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी सबिन श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले १३२ मत प्राप्त गरे ।
निर्वाचनमा कुल ३५६ मत खसेको थियो । उपाध्यक्ष पदमा पूजना प्रधान र शिवहरी बैरागी विजयी भएका छन् । पूजना प्रधानले १४४ मत र शिवहरी बैरागीले १४६ मत प्राप्त गरेका हुन् । अन्य उम्मेदवारमध्ये पनाह अधिकारीले १३५, उद्धव भट्टराईले १०७, डिबी तामाङले २७ तथा राजेन्द्र बस्नेतले १८ मत पाए ।
महासचिव पदमा सुनील कटवाल १९५ मतसहित विजयी भए भने रामेश्वर बुर्लाकोटीले १२५ मत प्राप्त गरे । सचिव पदमा गोपाल ढकाल २१४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी पल्पसा डंगोलले ११० मत प्राप्त गरिन् ।
कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित भइन् । सोही पदका लागी पवित्रा आचार्यले १०६ र खुश्व खड्काले ५८ मत प्राप्त गरे । सहकोषाध्यक्षमा पवन केसी १६१ मतसहित विजयी भए भने गीता नेपालले १५३ मत प्राप्त गरिन् ।
सदस्य पदमा १० जना विजयी भएका छन् । विजयी हुनेहरूमा इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला (मोनिका) दाहाल, चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई तथा सुलेमान इकु रहेका छन् ।
काठमाडौं - नेपाली कला, सङ्गीत तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै ‘नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान २०८१’ भव्य रूपमा प्रदान गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले विभिन्न विधाका स्रष्टा, कलाकार तथा पत्रकारलाई पुरस्कार तथा सम्मान अर्पण गर्नुभएको हो ।
यस अवसरमा कला पत्रकार तथा गीतकार गीता अधिकारी र अनन्त वाग्लेलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान गरिएको थियो । पुरस्कारसँगै उहाँहरूलाई नगद राशिसहित सम्मान गरिएको थियो । दुई दशकभन्दा बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी हाल हिमालय टाइम्स राष्ट्रिय दैनिक तथा मिलाप राष्ट्रिय मासिक पत्रिकासँग आबद्ध रहँदै आउनुभएको छ ।
समारोहमा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की तथा वीरेन्द्र पाठकलाई प्रदान गरिएको थियो । त्यस्तै, शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा. भीमार्जुन आचार्य तथा निर्वाण सिं गुरुङ पनि विशिष्ट सङ्गीत सम्मानबाट सम्मानित हुनुभयो ।
यसैगरी ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं तथा महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको थियो । नवप्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ विपना तामाङ, सहिमा श्रेष्ठ तथा सुरेश लामाले प्राप्त गर्नुभयो ।
कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ प्रमोद उपाध्यायलाई प्रदान गरिएको थियो ।
नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बाँसकोटा ले स्वर्गीय सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ ले नेपाली सङ्गीतलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई सामाजिक चेतना जगाउने शक्तिशाली साधनका रूपमा स्थापित गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले समाजले प्रत्येक वर्ष कला र सङ्गीत क्षेत्रमा समर्पित स्रष्टाहरूको योगदानको कदर गर्दै सम्मान तथा पुरस्कार वितरण गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमलाई थप आकर्षक बनाउँदै सम्मानित तथा पुरस्कृत कलाकारहरूले स्वर्गीय नातिकाजीका चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गरेका थिए । राष्ट्रपति भवनमा आयोजित समारोह नेपाली कला, सङ्गीत र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा अत्यन्त भव्य र भावनात्मक बनेको थियो ।
काठमाडौं - म्युजिक भिडियो कलाकार सङ्घ को आयोजनामा वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा सङ्घका मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम अनामनगरस्थित सिलेटो कटेज मा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ सङ्गीतकर्मी शम्भु राई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व सङ्घका कार्यवाहक अध्यक्ष सुनील लामिछाने ले गर्नुभएको थियो।
कार्यक्रममा दुर्गा राईमाझी, नारायण राईमाझी, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, रोयल्टी सङ्कलन समाजका उपाध्यक्ष पी एन सापकोटा लगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै सङ्घका सल्लाहकारहरू बाबुराज केसी उज्ज्वल, हरी डाँगी, देवेन्द्र बजगाईँ, शेषकान्त पुरी, घनश्याम आचार्य तथा शिवन पोखरेल लगायत अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा म्युजिक भिडियो क्षेत्रमा अतुलनीय योगदान पुर्याएका विशिष्ट कलाकारहरू राजेश हमाल, भुवन केसी तथा धिरेन शाक्य लाई “विशिष्ट म्युजिक भिडियो कलाकार” को मानार्थ परिचयपत्र प्रदान गरिएको थियो।
त्यसैगरी म्युजिक भिडियो क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका कलाकारहरू संस्थाकी संस्थापक अध्यक्ष अन्जु निरौला, निवर्तमान अध्यक्ष सम्झना बुढाथोकी, सुरबिर पण्डित, बिनोद श्रेष्ठ, सविन श्रेष्ठ, रञ्जन रिजाल, अशोक घिताल तथा लोकप्रिय कलाकार पल शाह लाई “वरिष्ठ म्युजिक भिडियो कलाकार” को मानार्थ परिचयपत्र प्रदान गरिएको सङ्घले जनाएको छ।
कार्यक्रमका संयोजक तथा सङ्घका महासचिव सनम कठायत ले म्युजिक भिडियो क्षेत्रलाई संस्थागत, व्यवस्थित र मर्यादित बनाउँदै कलाकारहरूको पेशागत सम्मान अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले वार्षिक क्यालेन्डरमा समावेश गरिएका योजनाबद्ध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण कलाकार, स्रष्टा तथा शुभेच्छुकहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रका उल्लेखनीय व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। वक्ताहरूले कार्यक्रमको उद्देश्य अत्यन्तै अर्थपूर्ण रहेको उल्लेख गर्दै यही उद्देश्यअनुसार संस्था अघि बढे कलाकारहरूको हकहित, पेशागत सुरक्षा तथा सम्मानका लागि बलियो संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। साथै म्युजिक भिडियो कलाकार सङ्घ ले कलाकारद्वय दुर्गा भट्ट र निरुता कुँवर बिष्ट लाई आर्थिक सहयोग समेत प्रदान गरेको जनाएको छ।
काठमाडौं – भाषा, साहित्य, कला र संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को छैटौं संस्करणका लागि आवेदन आह्वान गरिएको छ। ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित अवार्डको नयाँ संस्करण भव्य रूपमा आयोजना हुने तयारी गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्थाले जारी गरेको विज्ञप्तिअनुसार अवार्डका लागि वैशाख २१ गते सोमबारदेखि आवेदन फारम खुला गरिएको हो। अवार्ड संयोजक गीता अधिकारीका अनुसार राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा तथा रिमिक्स विधालाई समेटेर अवार्ड प्रदान गरिनेछ।
अवार्डका अध्यक्ष गणेश सुवेदीले दिएको जानकारीअनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म ९एक वर्षभित्र० सार्वजनिक भएका गीत–संगीतका स्रष्टा तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिनेछ। आवेदन दर्ताको अन्तिम म्याद जेठ १५ गतेसम्म तोकिएको छ।
अवार्ड समारोहमा नेपाली गीतसंगीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका एक विशिष्ट व्यक्तित्वलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिनेछ। साथै, देश तथा विदेशमा रहेर नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिएका संगीतकर्मी तथा सञ्चारकर्मी पत्रकारलाई समेत विशेष सम्मान गरिने आयोजकले जनाएको छ।
यसअघि काठमाडौंसँगै थाइल्याण्ड, सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अवार्डको छैटौं संस्करणलाई अझ विशेष र भव्य बनाउने तयारी भइरहेको संयोजक गीता अधिकारीले बताउनुभयो।
काठमाडौं - नेपाली संगीत क्षेत्रमा नयाँ गीत ''तिनपानेको झोल'' सार्वजनिक भएको छ। गायक डिजराज पौडेल र गायिका आशा लामा ज्ञानमालाको सुमधुर स्वरमा सजिएको उक्त गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
गीतका शब्द चक्र बहादुर कार्कीले तयार पारेका हुन् भने संगीत स्वयं गायक डिजराज पौडेलकै रहेको छ। संगीत संयोजन कृष्ण लमामीछानेले गरेका छन्, जसले गीतलाई अझ आधुनिक र कर्णप्रिय बनाएको छ।
भावनात्मक कथावस्तुमा आधारित गीतले प्रेम, विछोड र जीवनका यथार्थ पक्षलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। मधुर धुन र गहिरो शब्द संयोजनले श्रोतालाई गीतसँग भावनात्मक रूपमा जोड्न सफल देखिन्छ।
गीतको म्युजिक भिडियोमा दिपेन्द्र सोनाम र नितु सिंह ठकुरीको अभिनय देख्न सकिन्छ। उनीहरूको जीवन्त प्रस्तुति र भाव–अभिव्यक्तिले भिडियोको कथालाई अझ प्रभावशाली बनाएको छ।
भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी नितिन वाईवाको रहेको छ। उत्कृष्ट छायांकन, लोकेशन छनोट र सम्पादनले भिडियोलाई स्तरीय बनाएको छ।
सार्वजनिक भएको छोटो समयमै युट्युब तथा सामाजिक सञ्जालमा गीतले उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ। दर्शकहरूले विशेषगरी गीतको भावनात्मक प्रस्तुति, संगीत संयोजन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्।
नेपाली संगीत क्षेत्रमा पछिल्लो समय मर्मस्पर्शी तथा सन्देशमूलक गीतहरूको आकर्षण बढिरहेको सन्दर्भमा ''तिनपानेको झोल'' पनि सोही धारको एक सशक्त प्रस्तुति बनेको देखिन्छ।
काठमाडौं - चलचित्र पत्रकार संघ नेपालको नेतृत्वमा समिर बलामीले पुनः बाजी मारेका छन्। शनिबार राति सम्पन्न संघको १०औँ महाधिवेशनबाट उनले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा जित दर्ता गर्दै आफ्नो नेतृत्वलाई निरन्तरता दिएका हुन्। बलामीले निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पराजित गर्दै बलामीले विजय हासिल गरेका हुन्।
नयाँ कार्यसमितिमा उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा र उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध चयन भएका छन्। उपाध्यक्ष (महिला) पदमा दिपज्योति थापा विजयी भएकी छन्, जसले महिला नेतृत्वको सशक्त उपस्थिति झल्काएको छ।
महासचिवमा गोपी कृष्ण चापागाई निर्वाचित हुँदा सचिवमा मदन रिजाल र सचिव (समावेशी) मा महम्मद जालिम निर्विरोध चयन भएका छन्। त्यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं विजयी भएका छन्।
सदस्य पदमा ८ जना उम्मेदवार निर्विरोध चयन भएका छन्, जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाई, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म चलचित्र पत्रकारिताको अधिकार संरक्षण, पेशागत सुदृढीकरण र नेपाली फिल्म क्षेत्रको समग्र विकासका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ।
काठमाडौं- नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली अभिनेत्री सानीया खानले काठमाडौं महानगरपालिका –नागार्जुन १, रानीबनमा अत्याधुनिक सुविधा सहितको “स्काइ डान्स स्टुडियो” सञ्चालनमा ल्याएकी छन्। बुधबार एक विशेष कार्यक्रमबीच स्टुडियोको औपचारिक शुभारम्भ गरिएको हो।
नेपाली लोक, आधुनिक, पप, जुम्बालगायत विभिन्न शैलीका नृत्य सिकाइने उक्त स्टुडियोमा सबै उमेर समूहका नृत्यप्रेमीका लागि विविध कोर्सहरूको व्यवस्था गरिएको छ। नृत्यप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै गुणस्तरीय प्रशिक्षण प्रदान गर्ने उद्देश्यले स्टुडियो स्थापना गरिएको बताइएको छ।
स्टुडियोको उद्घाटन चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्का र कलाकार उत्तम केसीले संयुक्त रूपमा रिवन काटेर गरेका थिए। कार्यक्रममा नायक सबिन श्रेष्ठ, निर्देशक लक्ष्मण सुवेदी, राज बस्न्यात, रामेश्वर बुर्लाकोटी, पनाह अधिकारी लगायतका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो।
नेपालकै पहिलो “खान” अभिनेत्रीका रूपमा परिचित सानीया खानले डोली, कुइनेट, दुर्गामाण्डु र हिँड्दा हिँड्दै जस्ता चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।
कलाकारिताप्रतिको आफ्नो गहिरो मोह र नृत्यप्रतिको लगावलाई अझै विस्तार गर्दै नयाँ प्रतिभाहरू उत्पादन गर्ने लक्ष्यसहित स्टुडियो सञ्चालनमा ल्याएको उनले बताएकी छन्। नृत्य क्षेत्रमा रुचि राख्नेहरूका लागि “स्काइ डान्स स्टुडियो” अब एक आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
काठमाडौं - नेपाली संगीत क्षेत्रलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि निरन्तर भव्य रूपमा आयोजना हुँदै आएको राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को छैठौं संस्करण आयोजना हुने भएको छ। आयोजक संस्था सामना म्युजिक क्रियशनले आजदेखि औपचारिक रूपमा आवेदन (फारम) खुला गरिएको जानकारी दिएको छ।
अवार्डको अन्तिम कार्यक्रम कहिले र कहाँ हुने भन्ने विषयमा भने अझै टुंगो लागिनसकेको सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले बताएकी छन्। यद्यपि, यसपटकको संस्करण अझ भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको उनको भनाइ छ।
यस छैठौं संस्करणमा जम्मा २२ विधा समेटिएका छन्। सहभागी हुन इच्छुक कलाकारहरूले सामना म्युजिक क्रियशनको अनामनगरस्थित कार्यालय तथा अनामनगरमै रहेको रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज (राजु बोहरा) लगायतका स्थानबाट फारम प्राप्त गर्न सक्नेछन्। साथै, थप जानकारीका लागि फारममा उल्लेखित मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आयोजक समितिले आग्रह गरेको छ।
अवार्डमा सहभागिताका लागि २०८१ साल बैशाखदेखि २०८२ साल फागुन महिनाभित्र सार्वजनिक भएका गीतहरू मात्र योग्य हुनेछन्। प्रत्येक विधामा सहभागिता जनाउन रु. १,००० शुल्क तोकिएको छ भने एल्बमतर्फ रु. ५,००० शुल्क लाग्नेछ।
अध्यक्ष शाहका अनुसार, यो अवार्ड प्रारम्भमा पहिलो र दोस्रो संस्करणसम्म “अवार्ड” कै रूपमा सञ्चालन भए पनि तेस्रो संस्करणदेखि “रिवार्ड” को रूपमा रूपान्तरण गरिएको हो। सामना म्युजिक क्रियशनले यस्ता कार्यक्रममार्फत नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय कलाकारहरूलाई प्रोत्साहन गर्नुका साथै योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
नेपाली संगीतको प्रवर्द्धन र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको यो अवार्डले आगामी संस्करणमा पनि नयाँ प्रतिभा उजागर गर्ने विश्वास गरिएको छ।
नयाँ बर्ष विक्रम संम्बत् २०८३ सालको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।