काठमाडौँ — भाद्र ४, २०७७।
काठमाडौँ उपत्यकामा आज(विहीबार) देखि निषेधाज्ञा लागू भएको छ ।
मध्यरात देखि लागू भएको निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा खुबै कडाई गर्ने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने निस्कनेलाइ पनि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने चेतवानी दिनुभएको छ ।
उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन ।
त्यसैले बन्दाबन्दी भन्दा आज देखि लागु भएको निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा शैयाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिनुभयो । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।
उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलबारको बैठकले अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको थियो । यो आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ ।
अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारवाही गरिने छ । आदेश उल्लंघन गरे कडा कारवाही हुने चेतावनी दिइएको छ ।
(ईमेज खबर)
काठमाडौं — भाद्र ३, २०७७।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ ।
बुधबार विहान घिमिरेको निवासमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाई राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
मंगलबार साँझ एक सय एक वर्षको उमेरमा निधन भएका राष्ट्रकवि घिमिरेको शवलाई नेपाली सेनाले स्कर्टिङ गर्दै पशुपति आर्यघाट लैजाने छ ।
घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेना र सशस्त्र प्रहरीको एक/एक टुकुडीले सलामी अर्पण गर्ने सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभएको छ ।
नेपाली सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथिको उपाधि प्रदान गरेको थियो ।
(ईमेज खबर)
अछाम — भाद्र ३, २०७७।
अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ भने थुप्रै घरसहित पुलसमेत बगाएको छ ।
बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका-३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।
दर्नाको पक्की पुलसमेत बगेको स्थानीय पुष्प विष्टले जानकारी दिए । ‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् । हामी अहिले सैनीबजार जाँदै छौं,’ उनले भने, ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।’
कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको उनले बताए । विष्टका अनुसार दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ लागेको डीएसपी थापाले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली घटनास्थल गइरहेको छ ।
बाढीमा १८ जनाजति सम्पर्कविहीन रहेको खबर आएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । 'सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न अझै समय लाग्ने देखिन्छ । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेका छौँ,' उनले भने ।
(कान्तिपुर दैनिक)
काठमाडौं — भाद्र ३, २०७७।
आज कुसे औंसी, अर्थात बाबुको मुख हेर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले भाद्र कृष्ण औंसीका दिन आज घरघरमा कुश भित्र्याउँदैछ ।
वर्ष दिनभरी गरिने धार्मिक अनुष्ठान तथा कार्यहरुमा प्रयोग हुने कुशलाई सधैं पवित्र वनस्पति मानिन्छ । आजको दिन पुरोहितहरुले यजमानका कुश लगिदिने चलन छ ।
आजै पितालाई सम्मान गरि उपहार तथा मिष्ठान्न भोजन खुवाउने गरिन्छ । उता, काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष कुशे औंसीका दिन लाग्दै आएको मेला यसपटक नहुने भएको छ ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोले आज मेला स्थगित गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।
मन्दिर क्षेत्रमा सर्वसाधारणको भिडभाड रोक्न आज बिहानैदेखि उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।
(ईमेज खबर)
काठमाडौं — भाद्र ३, २०७७।
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।
विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उहाँको निधन भएको थियो ।
तीस वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनुभएको थियो ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो ।
साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उहाँले नै पाउनुभएको छ । युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गर्नुभएको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गर्नुभएको थियो ।
भानुभक्तलाई चर्चामा ल्याउने काम उहाँले गर्नुभएको थियो । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।
शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाउनुभएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताउनुभयो ।
नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेख्नुभएका गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थे ।
‘जता हेर्यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उहाँका गजलका नमूना हुन् ।
(ईमेज खबर)
काठमाडौं — भाद्र २, २०७७।
संघीय सांसदहरुले छातीमा टाँसेर हिड्ने लोगोका परिकल्पनाकार टेकवीर मुखिया अहिले आफैं अचम्ममा परेका छन् । आफूले संसदमा बुझाएको लोगोमाथि जबरजस्ती रंग–माटो थोपरेजस्तो आकृतिमा सोमबार त्यो संघीय लोगो सार्वजनिक भएपछि उनी रातैभर सुत्न सकेनन् ।
‘मैंले दुइवटा लोगोको खाका बुझाएको थिएँ, छानिएपछि खबर गर्नुहोला, म त्यसलाई फाइनल गरौंला भनेकै थिएँ,’ मंगलबार बिहानै भैंसेपाटी निवासमा भेटिएका ८७ बर्षिय कलाकार मुखिया केही रिसाएको लवजमा भन्दै थिए, ‘यसरी आफूखुशी जे गर्न पनि पाइन्छ ? हिजो टेलिभिजनमा देखेरमात्रै थाहा पाएँ, मैंले बनाएको लोगो कुनै नानीबाबुलाई फेरि बनाउन लगाएर सुन–चाँदीको जलप हालिएको जस्तै रहेछ ।’
नभन्दै मुखियाले परिकल्पना गरेको र बनाएको ‘स्याम्पल लोगो’मा यसरी भद्दापन जोडिएको थिएन । सोमबार संघीय संसदको ‘जलपयुक्त लोगो’ सार्वजनिक भएपछि र सांसदहरु समेतले यो चिन्हमा आक्रोश जनाएपछि राष्ट्रिय सभा अध्यक्षका प्रेस विज्ञ अशोक पौडेलले यसबारेमा ‘बचाउ’ गर्दै फेसबुकमार्फत प्रतिक्रिया दिइसकेका छन् । उनका अनुसार, मुखियाले बनाएको लोगोलाई पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालयमा रहेका कालीगढले हातैले कुँदेर यो पछिल्लो लोगो तयार गरिएको हो ।
‘संसदका कर्मचारीले मेरै घरमा आएर दिनभर ढुकेर पहिलो चरणमा लोगो बनाउन लगाएका थिए, मैले यो लोगोको खाका ‘रफ’ हो है भनेको थिएँ । पछि संसदको एउटा बैठकमा पनि यसबारे छलफल गर्दा मलाई बोलाइएको थियो,’ मुखियाले भने, ‘तर, म कलाकार स्वयमले ‘रफ’ र ‘स्याम्पल कपी’ भनिरहेकै बेला त्यही डिजाइनलाई ‘रिप्लिका’ झैं गरेर जबरजस्ती प्रयोगमा ल्याइएको हिजो मात्रै थाहा पाएँ । त्यो लोगो छानिएपछि म त्यसलाई फाइनल गरौंला भनेकै थिएँ, तर कहींकतैबाट कसैले यसबारे जानकारी दिइएन ।’
उनले बुझाएका दुई लोगोमध्ये पारित भएकोमा महिला–पुरुषको हातले घेरिएको नेपालको नयाँ नक्सा र झण्डा उल्लेख छ, पारित हुन नसकेको अर्को लोगोमा जौको बालाले घेरिएको प्रतीक चिन्ह रहेको छ ।
विगतमा पञ्चायतकाल, प्रजातन्त्र र गणतन्त्रका तीनवटा संसदीय लोगो डिजाइन गरेर राष्ट्रको चिनारीमा जोडिँदै आएका प्रखर कलाकार मुखियाले ‘सरकारी पद्धति र कार्यशैलीका कारण यसपटक आफ्नो नाम र पहिचान बिगार्ने काम भएकोमा’ चिन्ता पनि व्यक्त गरे ।
यो लोगो बनाएबापत मुखियालाई सरकारले ५० हजार रुपैयाँ दिएको थियो । कर काटेर ४२ हजार रुपैयाँ हात परेको उनले जानकारी दिए । ‘मेरो कलाको सम्मान हुँदैन र यसरी जथाभावी उपयोग गरिन्छ भने यसबापत मलाई दिइएको पारिश्रमिक म आजै फिर्ता गर्न तयार छु,’ मुखियाले भने, ‘सृजनामा रंग, कला, डिजाइनको अर्थ र महत्व के हुन्छ भनेर सुरुमा सरकारी कर्मचारीलाई बुझाउनु पनि जरुरी देखियो, यसरी जथाभावी गर्न पाइन्न ।’
(कान्तिपुर दैनिक)
काठमाडौं — भाद्र २, २०७७।
नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आज रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेको जनाइएको छ ।
सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई उद्धार उडान रोक्न भन्दै पत्राचार गरेको थियो ।
सीसीएमसीले केही स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको कारण देखाउँदै उद्धार उडान रोक्न भनेको थियो ।
सीसीएमसीको सोही आग्रह अनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरेसंगै विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका हुन् ।
स्वदेश फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगेका नेपालीहरु विमान रित्तै फर्किने खबरले आक्रोशित भएका छन् ।
उनीहरुले आफूहरुको सम्पूर्ण खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने भन्दै सामाजिक सन्जालमा आक्रोश पोखेका हुन् ।
यता नेपाल एयरलाइन्सले भने सरकारको यो निर्णयले एयरपोर्ट पुगेका यात्रुहरुले सास्ती पाउनुका साथै एयरलाइन्सलाई समेत घाटा लागेको बताएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काले सरकारको निर्णयसंगै दुबई पुगेको जहाज पनि रित्तै फर्कन बाध्य भएको जानकारी दिनुभयो ।
यात्रुहरुले टिकट काटेको पैसा फिर्ता पाउने वा अर्को उडान भएपछि व्यवस्थापन गरिने खड्काले बताउनुभयो ।
(ईमेज खबर)
काठमाडौं — भाद्र २, २०७७।
इन्टरनेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच कम देखिएको छ । नेपाली समाजमा अझै पनि छोराछोरीबीच विभेद कायमै छ।
यस्तो सोच काठमाडौं महानगरपालिकाजस्तो सहरी क्षेत्रका अभिभावकमा पनि रहेको सुन्दा आश्चर्य लाग्न सक्छ। तर यो यथार्थ हो। कोरोना संक्रमण जोखिमका कारण लकडाउनयता सुरु भएको अनलाइन कक्षामा विद्यार्थीको सहभागिताले यस्तो रहस्य खोलेको हो।
नेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच अपेक्षित रुपमा पुग्न नसकेको देखिएको छ।
त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन स्कुलमा १० कक्षाका विद्यार्थीका लागि सञ्चालित अनलाइन कक्षामा सोमबार ८६ जना विद्यार्थी सहभागी थिए। उनीहरूमध्ये ५८।१३ प्रतिशत छात्र र ४१।८६ प्रतिशत छात्रा रहेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए।
उनले कक्षा सकिएपछि नागरिकसँग भने, ‘अभिभावकलाई छोरीलाई पनि इन्टरनेट चल्ने मोबाइल किनिदेऊ भन्दा छोरी फेसबुक चलाएर बिग्रे जिम्मेवारी कसले लिने भन्छन्। मैले सम्झाउँदा किताब पढे पुगिहाल्छ भन्ने गरेका छन्।’
अझै पनि छोराको पढाइ रोके संसारै बिग्रने र छोरीको अध्ययनमा बाधा पुग्दा कुनै असरै नपर्ने सोच भएका अभिभावक भेट्दा दुःख लाग्ने गरेको उनले बताए।
विश्वनिकेतनमै कक्षा ९ मा अध्ययनरत एक छात्रकी आमा रजनी यादवले छोरीलाई नेटसहितको मोबाइल नदिने बताइन्। ‘आज म स्कुलमा किताब लिन आएकी। छोरी स्कुल नखुलेसम्म किताब पढेरै सिक्छिन्,’ उनले भनिन्, ‘नेट भएको मोबाइल त म दिन्नँ। गलत बाटो गए परिवारमा नराम्रो हुन्छ।’
कलंकी बस्ने सुस्मिता श्रेष्ठका बुवाले कक्षा ८ पढ्ने छोरालाई अनलाइन कक्षाकै लागि नेट चल्ने आफ्नो मोबाइल सेट दिए। तर सुस्मिताले पाइनन्। आमाबुवाको यस्तो व्यवहारले सुस्मिता निराश बनिन्। ‘भाइको कक्षा बिहान १० बजे सुरु हुन्छ, साढे एक बजे सकिन्छ।
(नागरिक दैनिक)
काठमाडौं — भाद्र २, २०७७।
कोरोना भाइरसका कारण ऐतिहासिक इन्द्रजात्रा प्रभावित भएको छ । योपल्ट काठमाडौँको वसन्तपुर गद्दी बैठकबाट सुरु गरेर भित्री मध्य सहरमा मनाइने इन्द्रजात्रा स्थगित गर्ने निर्णय भएको गुुठी संस्थानले जनाएको छ ।
गुठी संस्थान काठमाडौँ शाखा प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नेपाल सरकारले जात्रापर्व सञ्चालन नगर्न, नगराउन गरेको आदेशलाई कार्यान्वयन गर्दै योपटक इन्द्रजात्रा स्थगित गरिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो काट्ने साइतका लागि यही भदौ ४ गते ११ः२५ बजे तोकेको थियो । यही रात ९ः२५ बजे रुख काटेपछि भदौ १० गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराउने साइत दिएको थियो भने १४ गते इन्द्रध्वजोत्थानको साइत तोकिएको थियो ।
तत्कालीन राजा जयप्रकाश मल्लले चलाएको यसै सन्दर्भको श्रीकुमारी रथ यात्रा पनि स्थगित गरिएको छ । श्रीतुलजा भवानी, श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको पुजन हुन्छ तर रथ यात्रा हुँदैन, सुवेदी भन्नुहुन्छ । यस्तै झन्डै २५२ वर्ष अघिदेखि निरन्तर चलिरहेको श्रीकुमारी रथ यात्रा यो वर्ष रोकिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
काठमाडौं — भाद्र १, २०७७।
वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षका उमेरमा आइतबार निधन भएको छ । उहाँ पौवाः चित्रकारका रुपमा प्रख्यात हुनुहुन्थ्यो ।
नेशनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उहाँको आइतबार अपरान्ह १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
उच्चकोटिको पौभाः लेखनमा सिद्धहस्त चित्रकार नेपाल भाषाका गीतकार पनि हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
यसैबीच प्रतिष्ठानले शोक वक्तव्य जारी गरी उहाँका निधनले स्तब्ध भएको जनाएको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उहाँप्रति श्रद्घाञ्जली अर्पण गरेको छ ।
वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी समवेदना प्रकट गरिएको छ ।
उहाँको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उहाँले धेरै कलाकार उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।