काठमाडौँ — भाद्र ११, २०७७।
भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ।
धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ। तर, कोरोना महामारी बढिरहेकाले भेटघाट, जमघटको परिस्थिति छैन। यस्तो अवस्थामा सोह्र श्राद्ध कसरी गर्ने ? यजमानहरू अलमलमा परेका छन्।
यजमानहरू मात्र होइन, धार्मिक विद्वान्हरू पनि यसमा चिन्तित छन्। कतिपयको राय भर्चुअल (अनलाइन) श्राद्ध गर्नेछ। कतिपय ब्राह्मण सामुन्ने भएरै गर्नुपर्ने पक्षमा छन्। उनीहरू भन्छन्, ‘पछि सार्न पनि शास्त्रले रोकेको छैन। बरु सारौं।’
वैदिक कर्मकाण्ड महासंघ नेपालका कार्यवाहक अध्यक्ष रामचन्द्र भण्डारी महामारीबीच श्राद्ध गर्न भर्चुअल विधि अपनाउन सकिने बताउँछन्। ‘असम्भव भन्ने के नै छ र अब ? कहिल्यै नगरेको भनेर केहीलाई अलि नौलो लाग्न सक्छ।
तर यो समयसापेक्ष बनाउन सकिन्छ’, उनी भन्छन्। उनका अनुसार यजमान र पण्डित÷पुरोहितबीच सहज र सहमति भए म्यासेन्जर, ह्वाट्सएप, जुमलगायत भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गरेर पितृको उद्धार गर्न सकिन्छ।
‘पुरोहित नजिकै भए श्राद्ध सकेपछि दूरी कायम गर्दै दानदक्षिणा गरे भयो’, उनी भन्छन्, ‘नत्र बैंक खाता, ई–सेवा, खल्तीजस्ता प्रविधि प्रयोग गरेर पठाउन पनि सकिन्छ।’
राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराई ‘अन्तिम विकल्प’का रूपमा भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न सकिने बताउँछन्। ‘सोह्र श्राद्धमा केही नगरी बसे पितृ असाध्यै रुष्ट हुन्छन्, दिन पर्खेर बसेका हुन्छन्।
त्यसैले सन्तानले पिण्डपानी दिएपछि तृप्त हुँला भनेर पर्खिएकाले समयमै गर्नुपर्छ’, पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष डा। भट्टराई भन्छन्, ‘अन्यथा पितृ निराश हुन्छन्। उनीहरूमा सुस्केरा आउँछ। पितृ रिसाए सन्तानको सुख, समृद्धि हरण हुन्छ भन्ने मान्यता छ।’
त्यसकारण कोरोनाका कारण अरू विकल्प नभए वैज्ञानिक प्रविधिले दिएको सुविधा प्रयोग गरेरै भए पनि श्राद्ध गर्नुपर्नेमा उनको जोड रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
काठमाडौँ — भाद्र १०, २०७७।
नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपालि भने कोरोनाका कारण टुँडिखेलमा मनाइएन ।

कोरोनाले देशको आर्थिक जीवनमात्र होइन सांस्कृतिक जीवनमा पनि असर पारिरहेको छ । यस वर्ष तीज पनि अन्य वर्षजसरी मनाइएन । न त सहर बजारमा मेला लागे न पशुपतिमा नै भिड लाग्यो । समूहमा जम्मा मनाइने चाडबाडलाई कोरोनाले एक्लै मनाउने चाडमा बदलिदिएको छ ।
(कान्तिपुर दैनिक)
काठमाडौँ — भाद्र १०, २०७७।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे छलफल भएको हो ।
यद्यपि निर्णय भने भइसकेको छैन । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले थप एक साता निषेधाज्ञा जारी राख्ने विषयमा छलफल भएको तर निर्णय बुधबार मात्र हुने जानकारी दिनुभयो ।
उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो । “कोरोना सङ्क्रमणको महामारी दिन प्रतिदिन भयावह बन्दै गएकाले अहिलेको अवस्थामा एक सातासम्म जारी राख्नुपर्ने देखियो,” उहाँले भन्नुभयो– यसअघिको निर्णयको समयावधि १० गते रातिसम्म भएकाले आज मङ्गलबार निर्णय हुन सकेन ।
कोरोना सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि यही ३ गते बुधबार राति १२ बजेबाट जारी निषेधाज्ञा १० गते बुधबार मध्यरातबाट सकिँदैछ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ ।
निषेधाज्ञा थपिएसँगै सङ्क्रमितहरूका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढङ्गले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ । मर्निङवाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही सुरु गरिएको छ । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्नेहरूमाथि सडक कारबाही पनि कडा पारिएको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार तोकिएको अवधिभन्दा बढी समय पसल खोल्नेदेखि आफूखुसी सवारी चलाउने एक हजारभन्दा बढीलाई कारबाही गरिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।
काठमाडौँ — भाद्र ८, २०७७।
हेर्नुस् न, कोरोना संक्रमित बोकेको एम्बुलेन्स राख्ने ठाउँ छैन । कोरोना संक्रमित बोकेको एम्बुलेन्स टोलमा राखेको देख्यो कि सबैले विरोध गर्छन् । अस्पतालमा काम गर्ने स्वाथ्यकर्मी राखेको घर देख्यो कि उनीहरुलाई तत्काल निकाल भन्ने दबाब आउँछ । कहींकतै संक्रमित देख्यो कि टोल नै उल्टिएर घरमा भएका सबैलाई निकाल्न खोज्छन् ।
यस्तै छ अहिलेको काठमाडौंको अवस्था । महानगरको पछिल्लो अवस्थाबारे जानकारी लिन खोज्दा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भन्नुहुन्छ– ‘अब म मिडियालाई केही भन्दिनँ, गोप्यरुपमा काम गर्नुपर्ने बेला आएको छ ।’ शनिबार बानेश्वरनजिक मिलनटोलमा सिभिल अस्पतालका चिकित्सक बसेको होस्टलमा टोल सुधार समितिको अगुवाइमा चिकित्सकमाथि दुव्र्यवहार गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै मेयर शाक्यले भन्नुभयो– ‘अबदेखि कोरोना संक्रमण रोकथामको विषयमा हुने गरेका कामका बारेमा केही बोल्दिनँ ।’
उहाँले राजधानीबासीको हितमा लागिरहँदा समस्या पर्न थालेको गुनासो गर्नुभयो । ‘अहिले त अति समस्या परिसकेको छ । कोरोना संक्रमित राखेको वडा वा क्षेत्र देख्यो कि स्थानीयले गालीगलौज गर्न थालेका छन्।’ –उहाँको भनाइ थियो । उहाँले वास्तवमा कोरोना संक्रमण नदेखिएका चिकित्सकलाई होस्टलमा राख्दा विवाद गरेका जनताले नजिकै आइसोलेसन सेन्टर राख्दा के गर्लान् भनी प्रतिप्रश्न गर्नुभयो ।
एक साताभित्र उपत्यकाका नगरपालिकाले ५ हजार क्षमताको आइसोलेसन सेन्टर बनाउन गरेको निर्णय कार्यान्वयन भएको हो वा हुन बाँकी छ भन्ने विषयमा नेपाल समाचारपत्रले प्रश्न सोध्दा उहाँले भन्नुभयो– ‘अहिले यो विषयमा केही उत्तर दिन्नँ ।’ मिडियालाई भनेर काम गर्दा समस्या हुने बताउँदै उहाँले अब हल्ला नगरी काम गर्ने बेला आएको बताउनुभयो । आइसोलेसन बनाउने विषयमा सबै निकायसँग छलफल भइरहेको बताउँदै उहाँले कहाँ कति क्षमताको बन्ने भन्ने विषयमा जानकारी नदिने बताउनुभयो ।
विशेष गरी राजधानी रहेको काठमाडौंभित्र महानगरपालिकालाई अहिले काम गर्न समस्या पर्दै गएको धारणा राख्दै मेयर शाक्यले भन्नुभयो– ‘अब हामीले जे काम गर्छौं, सबै गोप्यरुपमा गर्छौं ।’ मिडियालाई सूचना दिन समस्या परेको भन्दा पनि कोरोना संक्रमितप्रति स्थानीयको धारणा सामान्य नभएको कारण समस्या आएको उहाँको भनाइ थियो । जसरी संक्रमितको नाम गोप्य राखेर उपचार गरिन्छ, त्यसरी नै कोरोना रोकथाम, आइसोलेसन निर्माणलगायतका विषयमा गरिएका सबै काम गोप्य राखिने उहाँको भनाइ थियो ।
काठमाडौं महानगरपालिकाले आउँदो १ हप्ताभित्र उपत्यकास्तरीय एकीकृत आइसोलेसन निर्माण गर्ने भएको छ । कोभिड–१९ को बढ्दो संक्रमण व्यवस्थापन गर्न र तेस्रो मुलुकबाट आउने ठूलो संख्याका यात्रुलाई निगरानी अवधिभर राख्नका लागि एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणमा लागेको हो । ‘हामी संघ र प्रदेश सरकारको सहयोगमा आवश्यकतानुसारका आइसोलेसन बनाउँछौं, विभिन्न अस्पतालका चिकित्सक र स्वाथ्यकर्मीलाई राख्ने व्यवस्था गर्छौं।’ –उहाँको भनाइ थियो ।
उपत्यकाका १८ स्थानीय तहले भोगेको साझा समस्याका बारेमा जानकारी गराउँदै उपत्यका मेयर फोरमका अध्यक्षसमेत रहनुभएका मेयर शाक्यले कोरोना रोकथामका लागि सबै प्रकारका काम गर्न तयार रहेको बताउनुभयो । उहाँले महानगरले सबै काम समाप्त गरेपछि मात्र सार्वजनिकरुपमा जानकारी दिने बताउनुभएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।
काठमाडौँ — भाद्र ७, २०७७।
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभएको छ ।
ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न आह्वान गरिएको छ ।
(ईमेज खबर)
काठमाडौँ — भाद्र ६, २०७७ ।
कोरोना यति ठूलो महामारी बनेर आइदियो, पहिलोपल्ट तीजमा हिन्दूका आराध्यदेवको मन्दिरमा ताला लगाउनु परेको छ। गतवर्ष तीजमा झन्डै १० लाखले पशुपतिनाथको दर्शन गरेको तथ्यांक पशुपति क्षेत्र विकास कोषसँग छ। बर्सेनि लाखौं व्रतालु महिला पुगेर पूजा, दर्शन र नाचगान गर्ने पशुपति क्षेत्र शुक्रबार भने सुनसान रह्यो।
इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले जीवनमा कहिल्यै थाहा नपाएको भोगाइ यसपटक भएको बताए। उनले भने, ‘यसरी तीजमा पशुपतिनाथ जानै नहुने वा नगएको भन्ने आजसम्म थाहा छैन।’ उनका अनुसार, वि।सं। ४०० तिर प्लेग रोगले काठमाडौंमा करिब २० हजार व्यक्तिको मृत्यु भएको थियो। त्यतिबेला मन्दिर बन्द भए, नभएको यकिन छैन। त्यसभन्दा जटिल परिस्थिति अहिले महसुस भइरहेको छ। ‘बचेरै पूजाआजा गर्नु स्वास्थ्यका दृष्टिले पनि उत्तम हो’, पन्तले भने, ‘सबै मिलेर जोगाएमात्र संस्कृति जोगिने हो। तर, यो वर्ष कम्तीमा सबै जोगिऔं, त्यसपछि संस्कृति जोगाउँला।’
निषेधाज्ञाका कारण बाहिर निस्कन प्रतिबन्ध छ। विविध उपाय गरेर पशुपति दर्शन गर्न पुगेकालाई समेत यसपालि अनुमति दिइएन। सरकारले जात्रा, पर्व, जमघट आदिमा प्रतिबन्ध लगाएकाले दर्शन खुला गर्न सम्भव पनि थिएन। त्यसमाथि संक्रमणको जोखिम छँदै थियो। ‘बिहानै करिब दुई हजार महिला पशुपतिनाथ आउनुभएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषकै सुरक्षाकर्मीले हटायौं’, कोषका सुरक्षाकर्मी भीम बुढाथोकीले भने, ‘साउने सोमबारमा लकडाउन भनिए पनि अटेर गरेरै पाशुपत क्षेत्रमा आएर पूजा गर्ने सयौं भए, अहिले त निषेधाज्ञा छ।’
संस्कृतिविद् डा। जगमान गुरुङले कोरोना संक्रमणका कारण यस पटकको तीजमा व्रतालुले पशुपतिनाथ जान नपाउँदा ‘खल्लो अत्यन्तै खल्लो’ भएको टिप्पणी गरे। ‘हिन्दू धर्मावलम्बी नारीको श्रद्धा, विश्वास र संस्कारमा ठेस लागेको छ’, उनले अन्नपूर्णसँग भने, ‘यो तीज नुन नहालेको तरकारीजस्तै खल्लो भयो।’ उनका अनुसार, घोडेजात्रा, बिस्केटजात्रा, सेतो मच्छिन्द्रनाथको रथयात्रा सबैमा कोरोनाले छेकबार लगाएको छ। रातो मच्छिन्द्रनाथको रथयात्रा अधकल्चो बनेर बसेको छ। ‘यस्तै हो भने दसैं, तिहारसमेतलाई असर पर्ने देखिन्छ’, उनले थपे।
पूर्वनायब बडागुरुज्यू एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा।डा। माधव भट्टराईले पशुपतिनाथमा तीजको पूजाआजा रोकिएको आफूले जीवनभर थाहा नपाएको अनुभव सुनाए। ‘एकदुई दिनको कुरो भएन, अझै कति हो थाहा छैन। त्यसैले सरकारले सुरक्षाकर्मी खटाएर, मास्क, सामाजिक दूरी आदि अनुशासन कायम राख्दै ४/५ घण्टा भए पनि खोलिदिनु पथ्र्यो’, उनले भने। अन्यत्र पनि यस्तो असहज परिस्थितिमा सरकारले कडा निगरानी गरेर व्रतालु/भक्तजनलाई मन्दिर दर्शन र पूजाआजाको व्यवस्था गर्नुपर्ने उनको तर्क रहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।
काठमाडौँ — भाद्र ६, २०७७ ।
सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।
पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ । पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकीएका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।
पोखरा– लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ
बस्न पर्यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी
(गायक खेम क्षेत्री र मधु क्षेत्री)
यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन्। हिन्दु महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण साँच्चै नसोचेको भइदियो। महिना दिनअघि तीजेगीत घन्काउँदै रातो साडीमा छमछम नाच्दै सङ्गीतमय बन्ने वातावरण अहिले भने घरभित्र सीमित भएको छ।
पोखरा –८ न्यूरोडका कस्मेटिक पसल सञ्चालक सन्तु पौडेलले बिहे गरेको १८ वर्षमा पहिलो चोटि माइती जान नपाएकामा नरमाइलो लागेको बताइन्। ‘मेरो माइती स्याङ्जा हो, सधैँ छोराछोरीसहित दर खाने दिनको अघिल्लो दिन माइत पुग्थेँ, ७० वर्ष पुगेकी आमा नातिनातिनाका साथ देख्दा आमा खुसी हुनुहुन्थ्यो, अहिले फोनबाट कुराकानी गरेर कोरोनाका कारण आउन नपाएको जानकारी गराएँ, आमाले नरमाइलो मान्नुभयो, 'बूढी भएकी आमाको काखमा तीजको दर खाएर मनाउने धोको यसपालि अधुरो भयो, आगुम के हुन्छ कुन्नि ?'
उनी अहिले घरभित्रै 'सोचे झैंँ रहिनछ जिन्दगी' भन्दै गीत घन्काएर नाच्दै छिन्। उनले कोरोना जित्ने सके अर्को वर्ष माइतीको आँगनमा पुग्ने रहर पूरा हुने विश्वास व्यक्त गरिन्।
लोकगायिका हरिदेवी कोइराला यस वर्षको तीज पर्व दिदीबहिनी जमघटविहीन भएको बताउँछिन्। उनी सम्झन्छिन्, ‘अघिका वर्षहरुमा महिना दिनअघिदेखि नै तीज विशेष कार्यक्रमका निम्ता हुन्थे, एकै दिन चारपाँच वटा कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो तर यस वर्ष कोरोनाका कारण सुनसान भयो । घरभित्रै आफन्त, इष्टमित्रबाट पनि भौतिक दूरी कायम गरेर बस्नुपर्ने अवस्था आयो ।’
उनले यस वर्ष ज्यान जोगाउन सके आउने वर्षहरुमा फेरि तीजेभाकामा छमछम नाच्न पाइने भएकाले सुरक्षित रहन सबैलाई आग्रह गरिन्। तीजका दरमा खीर, चाम्रे, तामा, आलु, घिरौँला, काँक्राको अचार, दहीलगायत परिकार समावेश हुने गरिए पनि पछिल्लो समय भने व्यक्तिको रुचि र स्वादअनुसार विभिन्न खालका परिकार तीजका दरमा समावेश हुन थालेको उनको भनाइ छ।
उनले तीजका मौलिक भाकाको अस्तित्व नै सङ्कटमा पर्ने थालेकाले यसको महत्वलाई सबै मिलेर बचाउनुपर्ने धारणा राखिन्।
उनको ‘माइती रमाइलो...’ बोलको तीजगीत सङ्ग्रह प्रकाशित छ भने पछिल्लो तीजगीत ‘जान्न म त त्यो घर...’ भर्खरै आएको छ ।
सञ्चारकर्मी एवम् लोकगायिका शान्ति गुरुङले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिले यस वर्षको तीज निरश बनाएको बताए। दिदीबहिनीको महान् पर्व कोरानाले निरस बनाए पनि निराश भएर बस्न नहुने उनको भनाइ छ। ‘वर्ष दिनको पर्व कैयौंँ दिदीबहिनी माइतीको काखमा पीडा बिसाएर रमाउने पर्व हो, कामकाजी महिलाका लागि त यो पर्व एउटा ‘रिफ्रेसमेन्ट’को पर्व हो तर कोरोनाको जोखिमले एक अर्काबीच दूरी राखेर बस्नुपर्ने अवस्था सिर्जना भयो ।’
उनले यस वर्ष कोरोनालाई जित्न सके अर्को वर्ष पक्कै तीज मनाउन पाइने भएकाले असहजतामा सहजता खोजी खुुसी बटुलेर परिवारबीच नै रमाइलो गर्न आग्रह गरिन्। यसपालिको तीज प्रविधिको प्रयोग गरी अर्काबीचको आत्मीयता साटेर मनाउनुपर्ने उनको भनाइ छ।
काठमाडौँ — भाद्र ४, २०७७।
हिन्दू नेपाली महिलाले मनाउने चाड तीज अन्तर्गत आज दरखाने दिन । विभिन्न मीठा मीठा परिकारका साथ दर खाइदैछ ।
दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ ।
दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ ।टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।
दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन रहेको छ ।
हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अरु चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।
पहिलेका दिनमा हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि राजधानीलगायतका क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुुरु भएको छ ।
परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।
तर कोरोना संक्रमणका कारण र विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा र लकडाउनले यसपाली तीजको खाश रौनक देखिदैन ।
यसपालाको तीज घरमै बसेर मनाउन सरकारले सबैलाई अपिल गरेको छ ।
(ईमेज खबर)
सिन्धुपाल्चोक — भाद्र ४, २०७७।
जुगल गाउँपालिका वडा नम्बर २ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबार बिहानसम्म २८ जनाको शव भेटिएको छ । लिदीका १३ घरका बेपत्ता भएका ३९ जनामध्ये २८ जनाको शव भेटिएको हो ।
आहिलेसम्म फेला परेका सबै शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकले जनाएको छ । यसअघि २४ जनाको शव भेटिएको थियो ।
बिहीबार बिहान ४ वर्षीय सोनाम दोङ, ४२ वर्षीय विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ र १८ वर्षीया ललिता दोङको शव भेटिएको हो ।
पहिरोमा परी घाइते भएका ५ जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनाको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
गत साउन ३० गते बस्तीमाथिबाट आएको पहिरोले १३ घर पूर्ण रुपमा पुरेको र ३७ वटा घरमा क्षति पुऱ्याएको थियो ।
लिदी पहिरोमा मृत्यु हुने २८ जना
(कान्तिपुर दैनिक)